बारा प्रहरीको सफलता, रुपेश स्वणर्कार हत्यकाण्डका मुख्य सुटर सुजित सिंह पक्राउ

कलैया (बारा), १० पुस । बारा प्रहरीले रुपेश स्वणर्कार हत्या काण्डका मुख्य आरोपी सुटर सुजित कुमार सिंहलाई पक्राउ गरेको छ । भारत बिहारको मोतिहारी जिल्ला दर्पा थाना १ सुकलहीया निवासी २५ बर्षीय सुजित कुमार सिंहलाई बारा प्रहरीले तीन महिनाको प्रयासले पक्राउ गर्न सफल भएको हो ।

गत कात्तिक १३ गते दिनदहाडै बाराको सदरमुकाम कलैयामा बाल एकता बोर्डिङ्ग स्कुलका संचालक एवं प्रधानाध्यापक ३५ वर्षीय गुड्डु भनिने रुपेश सर्राफ (स्वणर्कार) लाई अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । मोटर साइकलमा आएका दुई जना अज्ञात व्यक्तिले तीन राउण्ड गोली हानेका थिए । गोली लागेर घाइते भएका सर्राफलाई कलैया प्रादेशिक अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि वीरगंज स्थित वयोधा अस्पतालमा लगिएको थियो भने बयोधा अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

रुपेश हत्या घटनाको लगभग तीन महिना पुग्न लाग्दा बारा प्रहरीले नेपाल भारत सीमा क्षेत्रबाट मुख्य सुटर सुजितलाई पक्राउ गरेको हो । बारा प्रहरीको मोस्टवाण्टेड सूचिमा रहेका सुटर सुजितलाई बारा प्रहरीले पुस १० गते राति बारा जिल्लाको विश्रामपुर गाउँपालिका वडा नं. ३ स्थितबाट खुट्टामा गोली हानी नियन्त्रणमा लिएको हो । सुटर सुजितले प्रहरीलाई देख्ने वित्तिकै प्रहरीमाथि आक्रमण गर्न खोज्दा प्रहरीले सिंहको खुट्टामा गोली हानी नियन्त्रणमा लिएको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए । उनको अहिले कलैया स्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

यस घटनाको मुख्य कारण ‘प्रेम सम्बन्ध’ रहेको बारा प्रहरीले बताएको थियो । दोहोरो प्रेममा परेकी सर्राफकै स्कुलमा लेखापालमा कार्यरत पूर्व कर्मचारी कलैया – ६ निवासी २२ वर्षीय राधा गुप्ताकै कारण प्रधानाध्यापक रुपेश सर्राफको गोली हानी हत्या गरिएको प्रहरीले निष्कर्ष निकालेको थियो । राधाकै योजनामा भारतीय प्रेमी मनोजले भारतबाट सूटरहरु बोलाएर कात्तिक १३ गते दिउँसो रुपेशको हत्या गराएको प्रहरीले जानकारी दिएको थियो । त्यस बखतदेखि नै राधाको भारतीय प्रेमीसँगै मुख्य सुटर भारत बिहारको मोतिहारी जिल्ला दर्पा थाना १ सुकलहीया निवासी २५ बर्षीय सुजित कुमार सिंह, सोही ठाउँ निवासी चञ्चल पाण्डे, २२ बर्षीय मनिष सहनी र २० बर्षीय कामेश्वर सहनी फरार रहेका थिए ।

सुजित सिंह सहितका सुटरहरु यो भन्दा अघि पनि बारा जिल्लाको विभिन्न स्थानमा गोली हानी हत्या गरेका हुन् । सुजित, चञ्चल, मनिष र कामेश्वरले नै असोज ९ गते बारा जिल्लाकै पचरौता नगरपालिका – ६ लक्ष्मनियास्थित पोखरी नजिकै भारतीय नागरिक अजित कुमार सिंहको गोली हानी हत्या गरेका थिए । सो हत्या काण्डको कारण पनि ‘प्रेम सम्बन्ध’ नै रहेको बारा प्रहरीले बताएको थियो । पक्राउ परेकी भारत मोतिहारी जिल्ला दर्पा थाना – १ सुक्लहिया बस्ने वर्ष २३ को सोनम सहनी सिंहले सुजीतसँगको प्रेम सम्बन्धका कारण उनीसँग मिलेर आफ्ना पती अजितको हत्या गर्न लगाएको प्रहरीले जनाएको थियो ।

यसैगरि त्यही हतियारधारी समूहले नै एक वर्ष अगाडि बारामै आएर भारतीय नागरिकको गोली हानी हत्या गरेको थियो । २०७९ पुस ८ गते महागढीमाई नगरपालिका-२ स्थित भुतही पुल स्थित भारतीय नागरिक ४४ वर्षीय शिवपुजन यादवलाई गोली हानी हत्या गरेको थियो । शिवपुजनसँगै मोटरसाइकलमा आएका सुजीतले गोली प्रहार गरी उनको हत्या गरेर फरार भएको थियो । त्यस्तै यिनीहरुकै समूहले सन् २०२२ मा भारतको मोतिहारी जिल्ला दार्पा थाना ग्राम पञ्चायत-१४ का उपप्रमुखको समेत हत्या गरेको थियो ।

प्रतिक्रिया